दफा ३३
बैंकिङ्ग तथा वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
(१) यस ऐन बमोजिम बैंकिङ्ग वा वित्तीय कारोबार गर्न चाहने बैंक वा वित्तीय संस्थाले इजाजतपत्र प्राप्त गर्न राष्ट्र बैंकले तोकिदिएको दस्तुर सहित राष्ट्र बैंक समक्ष निवेदन दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिमको निवेदनका साथ बैंक वा वित्तीय संस्थाले देहायका विवरण तथा कागजात समेत संलग्न गरेको हुनु पर्नेछः– (क) बैंक वा वित्तीय संस्थाको प्रबन्धपत्र, नियमावली र प्रचलित कानून बमोजिम संस्थापना भएको प्रमाणपत्रको प्रतिलिपि, (ख) कारोबार सञ्चालन गर्न आवश्यक सबै पूर्वाधार तयार भएको कार्यालय भवनको विवरण वा भवन भाडामा लिने भए बहाल सम्बन्धी सम्झौताको प्रतिलिपि र भाडामा लिएको भवनको विवरण सहित बैंकिङ्ग तथा वित्तीय सेवा, सुविधा प्रदान गर्न सक्ने पर्याप्त आधार रहेको विवरण, (ग) संस्थापकले लिन कबूल गरेको शेयरको रकम चुक्ता भई राष्ट्र बैंकमा जम्मा गरेको प्रमाणित हुने कागजात, (घ) बैंक वा वित्तीय संस्थाको कर्मचारी सेवा, शर्त र सुविधा सम्बन्धी विनियम, आर्थिक प्रशासन सम्बन्धी विनियम र कर्जा अपलेखन सम्बन्धी विनियम, (ङ) कारोबार गर्ने मुख्य स्थान वा शाखाको स्थान यकिन भइसकेकोमा सोको ठेगाना, (च) बैंकिङ्ग तथा वित्तीय कारोबार गर्नको लागि राष्ट्र बैंकले तोकेका शर्तहरु पालना गर्ने कुराको मञ्जुरी, (छ) बैंक वा वित्तीय संस्थाको व्यावसायिक रणनीति र सञ्चालन गरिने कारोबारको प्रकृति, आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापन प्रक्रिया सहितको संगठनात्मक संरचनालाई समेट्ने गरी तयार पारिएको व्यावसायिक योजना, (ज) बैंक वा वित्तीय संस्थाको सञ्चालक र पदाधिकारीको नामावली तथा यस ऐन बमोजिम सञ्चालक वा पदाधिकारी हुन योग्य रहेको विवरण, (झ) बैंकिङ्ग वा वित्तीय कारोबार सञ्चालन गरुञ्जेल राष्ट्र बैंकले समय समयमा तोकिदिए बमोजिमको न्यूनतम पूँजी कायम राख्ने प्रतिबद्धता, (ञ) बैंक वा वित्तीय संस्थाले सम्भावित सबै जोखिमहरुको उपयुक्त ढंगबाट व्यवस्थापन गर्न आन्तरिक नियन्त्रण प्रणाली कायम गर्ने प्रतिबद्धता, (ट) राष्ट्र बैंकले समय समयमा तोकिदिएको अन्य विवरण तथा कागजात । (३) कुनै विदेशी बैंक वा वित्तीय संस्थाले नेपालमा संयुक्त लगानीमा संस्थापित गर्ने बैंक वा वित्तीय संस्थाको हकमा उपदफा (२) मा उल्लिखित विषयहरुका अतिरिक्त देहाय बमोजिमका कागजात वा विवरण समेत राष्ट्र बैंकमा पेश गर्नु पर्नेछः– (क) ‘क’, ‘ख’, ‘ग’, र ‘घ’ वर्गका बैंक वा वित्तीय संस्थाको हकमा विदेशी बैंक वा वित्तीय संस्थाको सम्बन्धित मुलुकको कानून बमोजिम त्यस्तो मुलुकको सरकार वा केन्द्रीय बैंक वा नियमन गर्ने निकायले नेपालमा त्यस्तो विदेशी बैंक वा वित्तीय संस्थालाई बैंकिङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न दिएको स्वीकृति वा सहमति पत्र, (ख) विदेशी बैंक वा वित्तीय संस्था स्थापना गर्न राष्ट्र बैंकमा निवेदन पेश गरेपछि वा राष्ट्र बैंकबाट अनुमति लिएपछि त्यस्तो विदेशी बैंक वा वित्तीय संस्थाले यस ऐन बमोजिम पूरा गर्नु पर्ने कुनै विषय फरक परेको भए सोको विवरण, (ग) राष्ट्र बैंकले माग गरे बमोजिमको अन्य जानकारी तथा विवरण ।  (४) उपदफा (२) वा (३) बमोजिम प्राप्त कागजात वा विवरणहरुको जाँचबुझ गर्दा कुनै कागजात वा विवरण नपुग वा अपर्याप्त भएमा राष्ट्र बैंकले त्यस्तो बैंक वा वित्तीय संस्थासँग थप कागजात वा विवरण माग गर्न सक्नेछ ।